५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारेकी छिन् ।
उनले निर्वाचन प्राथमिकतामा रहे पनि यसलाई भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा सरकार मौन रहेको अर्थमा बुझ्न नहुने जिकिर गरेकी छिन् । नेपाल संवत्को अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी समुदाय (परिवर्तनका वाहक) र राजनीतिक दलहरूसँग सरकारले दैनिक रूपमा संवाद गरिरहेको जानकारी दिइन् ।
प्रधानमन्त्रीले भनिन्, ‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी फागुन २१ गते भयरहित ढंगले चुनाव गराउने वातावरण बनाउन सरकार दत्तचित्त छ। राजनीतिक दल र जेनजी समुदायसँग निरन्तर सम्पर्क र संवादमा छौं।’
उनले सुशासन र भ्रष्टाचारका मुद्दामा सरकार मौन नरहेकोमा जोड दिँदै भनिन्, ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा हामी मौन छौं भन्ने होइन। नेपालको संविधानअनुसार जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व सरकारमा छ। यसमा परिणाममुखी काम अघि बढेका छन्।’
उनले लोकतन्त्रलाई जीवित राख्न र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय दायित्व पूरा गर्न सबैलाई आह्वान समेत गरेकी छिन्। (प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।)

















