५ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अहिले देखिएका जटिलताहरूको समाधानका लागि लोकतन्त्रको ‘अग्रगामी सर्भिसिङ’ अनिवार्य रहेको बताएका छन् ।
नेपाल संवत्को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले वर्तमान अवस्थामा राष्ट्रलाई पुनः एकताबद्ध बनाई अग्रगामी मार्गमा अघि बढाउने मोडमा देश रहेको उल्लेख गरेका छन् । उनले सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर लोकतन्त्रलाई सुदृढ नगरी अहिलेका जटिलता हल गर्न नसकिने बताएका छन् । त्यसका लागि लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ अपरिहार्य रहेको उनको भनाइ छ।
प्रचण्डले परिवर्तनका पक्षधर सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको औंल्याएका छन् । संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धि नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने विश्वास उनले व्यक्त गरेका छन् ।
यस क्रममा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणा गरेको र वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको पनि स्मरण गराएका छन् ।

















