५ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन जनाए पनि त्यसलाई निःशर्त र अनन्तकालीन नमान्ने स्पष्ट पारेको छ ।
पार्टीले आगामी फागुन २१ गतेको निर्वाचनका लागि वातावरण बनाउने सन्दर्भमा निर्वाचन आयोगमाथि दलीय छाया हट्नुपर्ने मुख्य सर्त अगाडि सारेको छ । बुधबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतमले रास्वपाको तर्फबाट यस्तो धारणा राखेका हुन् ।
उपसभापति वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार, रास्वपाले एमालेकांग्रेसको चरम कुशासन र अहङ्कारको प्रतीक सरकार ढाल्ने पहिलो दल भएको दाबी गर्दै कार्की नेतृत्वको सरकारप्रति सद्भाव र शुभेच्छा रहेको बताएको छ। तर, प्रतिशोधको राजनीति विरुद्ध सरकार उभिएको देखिनुपर्ने उनको भनाइ छ ।
रास्वपाले भदौ २३ को नरसंहार र २४ को हिंसा-आगजनीबारे सत्यतथ्य छानबिन हुनुपर्ने, रास्वपाविरुद्ध ११ महिना षड्यन्त्र गर्ने निर्वाचन आयोगबाट दलीय छायाँ हट्नुपर्ने, लुकाइएका दर्जनौँ भ्रष्टाचार काण्डमाथि कदम चाल्दा विधि र संस्थाको सहारा लिने, तर पुराना दलले चुनाव भाँडिन्छ भन्ने कुतर्क गर्न नहुने लगायतका विभिन्न माग राखेको छ ।

















