Logo

११ कार्तिक, काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । त्यसको असरस्वरूप आज देशभरको मौसम साधारणतया बदली रहने, घाम देख्न मुस्किल हुने र विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात पनि हुने सम्भावना रहेको छ ।

आज राति कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारण बदली रहने र तराईका अधिकांश स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ । राति गण्डकी प्रदेशका केही स्थान, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने र बागमती तथा गण्डकीका उच्च हिमाली भागमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् । मुक्तिनाथ पुगेका तिर्थयात्रीहरुले बिहानैदेखि हिउँ परेको र बाटोमा हिउँ जमेकाले हिँडडुल गर्न कठिन भएको बताएका छन् । ‘मन्दिरभन्दा तलको क्षेत्रमा तीन–चार इञ्च हिउँ जमेको छ, मानिस र सवारी रोकिएको स्थानीय प्रशासनले जनाएको छ ।

होटल–पसलका अगाडि जमेको हिउँ स्थानीयले बेल्चाको सहायताले पन्छाइरहेका छन् भने सडकमा जमेको बाक्लो हिउँ स्काभेटरमार्फत हटाउनुपर्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पदयात्रामा ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङका उच्च हिमाली क्षेत्र—मुस्ताङ–डोल्पा, याकखर्क (५,८०० मिटर), थोरङ्ला पास (५,४०० मिटर), सरिबुङ पास (६,००० मिटर) र धम्पुस पिकलगायत क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने अनुमान छ । त्यसैले ती क्षेत्र हुँदै पदयात्रा नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार मुस्ताङका अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षा हुने सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमान हेरेर मात्रै यात्रा योजना बनाउन आग्रह गरिएको छ । तिहारको बिदाको अवसरमा हाल हिमाली क्षेत्रमा पदयात्रुहरूको भीड बढेको भए पनि कार्यालयहरू खुलेसँगै यात्रुको संख्या बिस्तारै घट्ने अनुमान गरिएको छ ।

मौसम प्रतिकूल हुनसक्ने देखिएकाले सचेत रहन र अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गरेका छन् । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ । महाशाखाले जनजीवनमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार