Logo

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहित विभिन्न सात दलबीच पार्टी एकताको घोषणा मिति तय भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले आगामी कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले दिएको जानकारीअनुसार यो एकतामा सातवटा समूह सहभागी हुनेछन् । जसमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी (माधवकुमार नेपाल नेतृत्व), नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव नेतृत्व), विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल रहेका छन् ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भइसकेको छ । साथै, पार्टीको राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर अब मार्क्सवाद–लेनिनवाद लाई मात्रै कायम गरिने महत्त्वपूर्ण निर्णय भएको छ ।

एकता प्रक्रियामा संलग्न दलका नेताहरूले एकता घोषणा गरेलगत्तै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न समयसीमा तोकेको छ ।


सम्बन्धित समाचार