Logo

१६ कात्तिक,वीरगञ्ज । वीरगंज भन्सार कार्यालयबाट शनिबार औपचारिक रूपमा ‘अनलाइन भन्सार डाटाबेस प्रणाली (Customs Valuation Database System)’ शुभारम्भ गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार, प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन गर्दै उक्त प्रणालीलाई अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘डिजिटल’ माध्यमबाट उद्घाटन गर्नुभयो।

शुभारम्भ समारोहमा बोल्दै अर्थमन्त्री खनालले यो प्रणालीले निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिँदै पारदर्शी व्यापार वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
उनका अनुसार, अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठन (WTO) द्वारा अनुमोदित ‘GATT Valuation System’ लाई नेपालले भन्सार ऐन र नियमावलीमा अंगीकार गरिसकेको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिनेगरी यो प्रणालीको परीक्षण सुरु गरिएको हो।

अर्थमन्त्री खनालले थपे,

“यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन दिनेछ, मूल्य अभिवृद्धि कर (VAT) र अन्य कर प्रणाली कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ। साथै, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग–व्यवसायलाई फस्टाउन मद्दत पुग्ने अपेक्षा राखेका छौँ।”

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैंक (ADB) का भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो।

सरकारले यस प्रणालीमार्फत भन्सार मूल्याङ्कनमा एकरूपता, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डको अनुपालन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।भन्सार विभागका अनुसार, अनलाइन डाटाबेस प्रणाली लागू भएपछि मूल्य निर्धारणमा देखिँदै आएको फरक–फरक अभ्यास अन्त्य भई भ्रष्टाचारमा कमी आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार