Logo

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा देखिएको नातावाद, कृपावाद र बेथितिप्रति कडा असन्तोष व्यक्त गर्दै तत्काल सुधारका लागि निर्देशन दिएकी छिन्।

पर्यटनमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा निगम सञ्चालक समिति र व्यवस्थापनका उच्च अधिकारीहरूलाई बोलाएर निगममा पहुँच र सिफारिसका आधारमा भर्ती गरिएका करारका कर्मचारीहरूलाई तुरुन्त हटाउन निर्देशन दिएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बैठकमा प्रश्न गर्दै भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यहाँ आन्दोलन भइरहेका बेला उता भटाभट आफ्ना मान्छे भर्ती गर्ने ? अवकाश पाउन लाग्दा पनि मनपरी ? यो कति ठूलो बेथिति हो ?”

‘निगम धनाढ्यको बिग्रिएको घरजस्तो’

प्रधानमन्त्री कार्कीले कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कठोर रूपमा लाग्न निर्देशन दिइन्। उनले निगमलाई धनाढ्यको बिग्रिएको घरसँग तुलना गर्दै भनिन्, “हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो, तर त्यो पनि छैन।”

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।

‘अनुचित दबाब नमान्नुस्, विधिसम्मत रूपमा काम गर्नुस्’

प्रधानमन्त्री कार्कीले निगमका अधिकारीहरूलाई कुनै पनि राजनीतिक वा बाह्य दबाब नमान्न निर्देशन दिइन्।
उनको भनाइ थियो, “राजनीतिक मान्छेहरूले दबाब दिन्छन् भने पनि तपाईँहरू विधिसम्मत रूपमा चल्नुस्। राम्रो काम गर्नेहरूलाई कसैले पनि कारबाही गर्न सक्दैन। अख्तियारको डरले हात बाँधेर नबस्नुस्।”

प्रधानमन्त्री कार्कीले निगमले आफ्नै जहाजको इन्जिन मर्मतका लागि पठाएर नल्याउने र भाडाको इन्जिन प्रयोग गरी अनावश्यक खर्च देखाउने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन्।
“यो घाटा त जनताले बेहोरेको घाटा हो,” उनले भनिन्, “अब यो संस्था सुधार्न कठोर र अप्रिय निर्णय गर्न तयार हुनुपर्छ।”

सुधारका लागि सरकारको पूर्ण साथ

बैठकमा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए।
उनले भने, “निगममा बोल्ड निर्णय आवश्यक छ। म अप्रिय निर्णय गर्न तयार छु, सरकारको साथ चाहिन्छ।”

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “संस्था सुधारका लागि लाग्नुस्, सरकार तपाईँहरूको दाहिने हातमा छ।”

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
प्रधानमन्त्री कार्कीले अन्त्यमा निगमभित्र भएका भ्रष्टाचार सम्बन्धी प्रतिवेदनअनुसार तुरुन्त कारबाही गर्न र सुधारका सबै प्रतिवेदन कार्यान्वयनका लागि योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिएकी छिन्।


सम्बन्धित समाचार