Logo

१७ कात्र्तिक, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पार्टीभित्रको वर्तमान अन्योल र संकटबाट निकास खोज्नका लागि भेला गरेका छन् । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेट मा संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

कार्यसम्पादन समिति बाहिरका नेता सक्रिय

भेलामा पार्टीको कार्यसम्पादन समिति मा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू सहभागी छन् । भेलाको मुख्य उद्देश्य पार्टीको वर्तमान संकट, आगामी निर्वाचन र केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित रहेको बताइएको छ । केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिँदै भने, ‘कसैले विशेष महाधिवेशन भन्ने, कसैको नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेका हौँ।’
केन्द्रीय सदस्य शङ्कर भण्डारी ले पनि केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेकाले पार्टीलाई निकास दिनेबारे साथीहरूबिच छलफल भइरहेको बताए।

छलफलमा पूर्वमन्त्री वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मा (प्रचार विभाग प्रमुख), दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर लगायतका केन्द्रीय सदस्यहरू सहभागी छन् ।

आगामी निर्वाचन र हस्ताक्षर प्रमाणीकरणमा दबाब

भेलाका सहभागीहरूले आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय लिनका लागि नेतृत्वलाई दबाब दिने तयारी गरेका छन् । साथै, केन्द्रीय सदस्यहरूले पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको प्रमाणीकरण गर्नका लागि पनि नेतृत्वलाई सुझाउने तयारी भेलाबाट गरिएको बताइएको छ । यो भेलाले नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र निर्णयहीनताको अवस्थामा सुधार ल्याउनका लागि संस्थापन पक्षीय नेताहरूले सामूहिक रूपमा नेतृत्वलाई दबाब दिने तयारी गरेको सङ्केत गर्दछ।


सम्बन्धित समाचार