Logo

१९ कात्र्तिक काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ४४ दिनदेखि जारी कर्मचारी आन्दोलन रोक्न बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ दोस्रो प्रयासमा पनि असफल भएका छन् ।

जसले आन्दोलन थप लम्बिने निश्चित भएको छ । बोर्डको कार्यकक्षमा ताला लागेपछि अध्यक्ष श्रेष्ठले आज अर्थ मन्त्रालयमा सञ्चालक समिति सदस्यहरूसँग अनौपचारिक छलफल गरे पनि बैठक निष्कर्षविहीन टुङ्गिएको छ । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले मन्त्रालयविरुद्ध अदालत जाने प्रस्ताव अगाडि सारेका थिए, तर सञ्चालकहरूको बहुमत नभएपछि उक्त प्रस्ताव पारित हुन सकेन । यो विवाद अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णयमार्फत खारेज गरिदिएका कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ लाई कार्यान्वयन गर्ने वा खारेजीविरुद्ध अदालत जाने भन्ने विषयमा केन्द्रित थियो ।

कर्मचारीहरूले बोर्ड स्वायत्त निकाय भएकाले मन्त्रालयको हस्तक्षेप अधिकारमाथिको प्रहार भएको दाबी गर्दै खाइपाई आएको सुविधा कटौती गर्ने निर्णयविरुद्ध बोल्न नसकेको भन्दै अध्यक्ष श्रेष्ठको समेत राजीनामा माग गरिरहेका छन् । सुरुमा बेवास्ता गरे पनि राजीनामाको दबाब बढेपछि सक्रियता देखाएका अध्यक्ष श्रेष्ठले ४४ दिनको अवधिमा जम्मा दुई पटकमात्रै बोर्ड बैठक बोलाएको र केवल चार दिन मात्र कार्यालय पुगेको पाइएको छ।


सम्बन्धित समाचार