Logo

२० कात्तिक,वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाका हुँदै रु ६८ करोड ५ लाख मूल्यका २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा मात्र ९७ वटा सवारी आयात भएका थिए। यस वर्षको तुलनामा त्यस अवधिमा आयातमा झण्डै ढाई गुणा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।सर्वसाधारणबीच विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र चीनतर्फको नाका हुँदै आउने सडकको दयनीय अवस्थाका कारण वीरगञ्ज नाकाबाट हुने आयातमा वृद्धि भएको बताइएको छ।

चालु आवको तीन महिनामा यी सवारीसाधनबाट मात्रै ४५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।गत आवको सोही अवधिमा भने १४ करोड ४९ लाख मूल्यका सवारी आयात भई ९ करोड ११ लाख राजस्व मात्रै संकलन भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा “उल्लेखनीय वृद्धि” देखिएको छ।

यससँगै चालु आवको तीन महिनामा २ हजार १९४ वटा विद्युतीय मोटरसाइकल समेत वीरगञ्ज नाका हुँदै भित्रिएका छन्, जसको मूल्य रु २८ करोड ७९ लाख बराबर रहेको छ। गत आवको सोही अवधिमा १ हजार ४८१ वटा मोटरसाइकल मात्रै आयात भएका थिए, जसको मूल्य रु २१ करोड १७ लाख थियो।

विशेषज्ञहरूका अनुसार नेपालमा बढ्दो इन्धन मूल्य र सरकारको विद्युतीय सवारी प्रवर्द्धन नीति पनि यो वृद्धि पछाडिको प्रमुख कारण हुन्।


सम्बन्धित समाचार