Logo

२७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न सबै पक्षको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

भेटका क्रममा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले मतदाता नामावली अद्यावधिक र आगामी निर्वाचनका तयारीसम्बन्धी कामहरूबारे प्रधानमन्त्रीलाई जानकारी दिएको बताए।

उनका अनुसार, “सम्माननीय प्रधानमन्त्रीज्यू र निर्वाचन आयोगका पदाधिकारीबीच आसन्न प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक पूर्वतयारी, मतदाता नामावलीको प्रगति तथा गर्नुपर्ने कामहरूबारे सघन छलफल भएको छ।”

प्रवक्ता भट्टराईका अनुसार, प्रधानमन्त्री कार्कीले आयोगका प्रयासको प्रशंसा गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सरकारबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाएकी छन्। उनले भने, “प्रधानमन्त्रीज्यूले सबै निकाय, राजनीतिक दल, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको समन्वयमा निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।”

निर्वाचन आयोगले यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गते, र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्ने मिति तय गरेको छ। आयोगका अनुसार दुवै निर्वाचनका लागि प्राविधिक तयारी तीव्र रूपमा भइरहेको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भको रूपमा चित्रित गर्दै निर्वाचन प्रक्रिया पारदर्शी, विश्वासिलो र जनअपेक्षाअनुरूप हुने विश्वास व्यक्त गरेकी छन्।


सम्बन्धित समाचार