Logo

२७ कार्तिक, काठमाडौँ । डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्दै आएका उद्योगहरूले प्रिमियम महसुल बक्यौता तिरेपछि विद्युत् आपूर्ति पुनः सुरु भएको छ। कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तानी गरेपछि सबै उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हाल डेडिकेटेड र ट्रंकलाइन महसुल बक्यौताका कारण कुनै पनि उद्योगको लाइन काटिएको अवस्था छैन। उनले भने, “पहिलो किस्ता भुक्तानी गरेसँगै सबै उद्योगमा बिजुली आपूर्ति पुनः सुरु गरिएको छ।”

यसअघि बक्यौता विवादका कारण २५ वटा उद्योगको लाइन काटिएको थियो। तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो।

प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम २८ किस्तामा तिर्न २१ कार्यदिनको समय दिएको थियो। सो अवधिमा १३ औद्योगिक ग्राहकले समयमै भुक्तानी गरे पनि बाँकी २५ उद्योगले रकम नतिरेपछि कात्तिक ४ र ७ गते गरी क्रमशः सबै उद्योगको बिजुली काटिएको थियो।

काटिएका उद्योगमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले नियमित महसुल नै नतिरेका कारण अझै पनि आपूर्ति बन्द रहेको प्राधिकरणले जनाएको छ। यस्तै, सिमेन्ट उद्योगले आफ्नो ट्रान्सफर्मर मर्मत नगरेको र उद्योग पनि बन्द अवस्थामा रहेको बताइएको छ।

प्राधिकरणले बक्यौता विवाद समाधानका लागि किस्ता प्रणाली लागू गरेपछि अधिकांश उद्योगले रकम भुक्तानी गर्न थालेका छन्। यसले औद्योगिक उत्पादनमा सहजता ल्याउने र विद्युत् राजस्व संकलन सुधारमा मद्दत गर्ने प्राधिकरणको अपेक्षा रहेको छ।


सम्बन्धित समाचार