Logo

२८ कात्र्तिक, काठमाडौं । आसन्न निर्वाचनको तयारीका क्रममा मतदाता नामावली दर्ता गर्ने क्रमले पछिल्ला दिनहरूमा तीव्र गति लिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, बुधबार एकै दिनमा ३० हजार ३७३ जना नयाँ मतदाता थपिएका छन् । यस वृद्धिसँगै बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको कुल संख्या २ लाख ३९ हजार ९४० जना पुगेको छ । कात्तिक ३० गतेसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था रहेकाले समयसीमा नजिकिँदै गर्दा आयोगमा उत्साह बढेको छ । यसैबीच, आयोगका अधिकारीहरूले मतदाता नामावली दर्ता प्रक्रियाले अब अझ बढी रफ्तार लिने अपेक्षा गरेका छन्, जसको मुख्य कारण राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई दर्तामा प्रयोग गरिने नयाँ प्रक्रिया हो ।

आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने महत्त्वपूर्ण प्रक्रिया सुरु गर्न लागेको छ । यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका कामहरू सम्पन्न गरिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार नै आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले प्रधानमन्त्रीलाई बिहीबारबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएका थिए । बैठकमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले पनि सहभागिता जनाउँदै विभागले राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

यस नयाँ व्यवस्थाले राष्ट्रिय परिचयपत्र नम्बर भएका र स्वयं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताहरूलाई नामावलीमा समावेश हुनका लागि निकै सहज बनाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै