Logo

२७ कात्तिक,काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि जनाउँदै उनलाई एमाले नेताजस्तै देखिन थालेको टिप्पणी गरेका छन्।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँग पुगेका गुरुङले गृहमन्त्री अर्यालको एजेन्डा चुनावमा मात्र केन्द्रित रहेको र जेनजी आन्दोलनका मागहरूलाई बेवास्ता गरेको आरोप लगाए।

गुरुङले भने, “बाँकी मन्त्रालयहरूले काम गरिरहेका छन्, तर गृह मन्त्रालयले काम गर्न सकेको छैन। उहाँको एजेन्डा भनेको चुनाव मात्रै रहेछ। हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको अवस्थामा न्याय नपाई चुनावमा जान सकिँदैन। गृहमन्त्रीले जेनजीहरूलाई मात्र समातेका छन्, राजनीतिक पार्टीहरूलाई छोएको पनि छैन। मलाई कहिलेकाहीँ उहाँ त एमालेकै हुन् कि भन्ने लाग्छ।”

गुरुङले गृहमन्त्री अर्याललाई जेनजी आन्दोलनको भावना अनुसार काम गर्न नसके मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। उनले भने, “गृहमन्त्रीले आन्दोलनको भावना अनुसार खुट्टा जमाउन सकेका छैनन्। त्यसअनुसार अघि बढ्न नसके पद खाली गरिदिनुपर्छ।”

उनले हाल देशमा जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बढ्दो भ्रष्टाचार अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए।

गुरुङले आफूहरूले वडास्तरसम्म जेनजी समितिहरू गठन गरिसकेको दाबी गर्दै, “केही छिटफुट जेनजीहरू वडासम्म जान नसक्ने खालका छन्, तर हामीले जडसम्म संगठन विस्तार गरिसकेका छौँ,” भने।


सम्बन्धित समाचार
भर्खरै