Logo

२७ कात्तिक,काठमाडौं । चर्चित निर्देशक एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९ः ग्लोब ट्रोटर’ बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक भएको छ। फिल्ममा प्रियंका ‘मन्दाकिनी’ को भूमिकामा देखिनेछन्।

निर्माण पक्षले बिहीबार बिहान सार्वजनिक गरेको फर्स्टलुकमा प्रियंका पहेँलो सारीमा पेस्तोल बोकेर केही आतंकसँग लडिरहेको दृश्य देखिन्छ। राजामौलीले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, “विश्व मञ्चमा भारतीय सिनेमालाई पुनः परिभाषित गर्ने महिला। स्वागत छ, देसी गर्ल! प्रियंका चोपडा जोनस। मन्दाकिनीका विभिन्न रूपहरू विश्वले हेर्न आतुर छु।”

पोस्टर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसकहरूले प्रियंकाले सारीमा एक्सनलाई नयाँ परिभाषा दिएको टिप्पणी गरेका छन्।

यो फिल्ममा साउथ स्टार महेश बाबु मुख्य भूमिका निभाइरहेका छन्। निर्माण पक्षले फिल्मको ‘टाइटल लन्च’ नोभेम्बर १५, २०२५ मा गर्ने जानकारी दिएको छ। यसअघि फिल्मले पृथ्वीराज सुकुमारनको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको थियो, जसमा उनी मुख्य खलनायक ‘कुम्भ’ को रूपमा प्रस्तुत छन्।

फिल्म अफ्रिकी लोककथाबाट प्रेरित साहसिक कथा हुने बताइएको छ। छायांकन २०२६ को अन्त्यसम्म पूरा हुने र प्रदर्शन २०२७ मा हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार