२८ कात्तिक, जनकपुरधाम ।मधेश प्रदेशसभामा पाँच जना सांसदको पदमुक्ति विषयलाई लिएर सभामुख र उपसभामुखबीच खुलेआम विवाद देखिएको छ। सभामुख रामचन्द्र मण्डलले पाँच सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेलगत्तै उपसभामुख बबिता कुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको घोषणा गरेकी छिन्।
सभामुख मण्डलले लगातार १० पटक बैठकमा अनुपस्थित भएको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको जानकारी बिहीबार सार्वजनिक गरेका थिए।
तर सोही दिन उपसभामुख बबिताले विज्ञप्ति जारी गर्दै ती सबै सांसद कात्तिक २२ गते बसेको विश्वासको मत सङ्कलनसम्बन्धी बैठकमा उपस्थित रहेको हाजिरी र भिडियो प्रमाण रहेको बताइन्। उक्त आधारमा सभामुखले गरेको पदमुक्तिको सूचना बदर भएको उनले स्पष्ट गरेकी छन्।
उपसभामुखले जारी गरेको सूचनामा भनिएको छ,
“मधेश प्रदेश सभाको मिति २०८२/७/२२ गतेको विश्वासको मत सम्बन्धी हाजिरी प्रस्तावको बैठकमा सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयज्यूहरू उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा जानकारी गराइन्छ ।”
सभामुखको कदम प्रतिशोध र आवेगमा आधारित रहेको उपसभामुख राउत ईशरको आरोप छ।
यसले मधेश प्रदेशसभामा देखिएको राजनीतिक तनाव झन् चुलिएको संकेत दिएको छ।
















