Logo

२८ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र न्यायपूर्ण कार्यशैलीलाई आफ्नो प्राथमिकता बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले आज जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै सञ्चारकर्मीसँग कुरा गर्दै यस्ता धारणा राखे।

पदभार ग्रहण समारोहपछि पत्रकारहरूसँग बोलेका डा. कर्णले आफूलाई संविधानले प्रदान गरेको अधिकारभित्र रहेर जिम्मेवार र निष्पक्ष ढङ्गले काम गर्ने बताए। उनले पत्रकारमैत्री प्रदेश प्रमुखका रूपमा रहने उल्लेख गर्दै सञ्चारकर्मीलाई सुझाव, राय र सहकार्यका लागि अनुरोध गरे।

मधेस प्रदेशलाई सीताको जननी भूमि भएको ऐतिहासिक र सांस्कृतिक मूल्यले भरिपूर्ण क्षेत्र भन्दै उनले त्यसप्रति उच्च सम्मान राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। “यो प्रदेशको सांस्कृतिक पहिचान र गौरवलाई थप उजागर गर्दै विकास र सुशासनमा योगदान पुर्‍याउन चाहन्छु,” डा. कर्णले भने।

शैक्षिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बोकेका डा. कर्ण त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापकका रूपमा दीर्घकालीन सेवा सम्हाली सकेका छन्। सेवा निवृत्त भएपछि उनले राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै