Logo

२८ कात्तिक,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्तासम्बन्धी निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रम नपर्न सबैलाई आग्रह गर्दै एकीकरण अभियानका बाँकी काम पूरा गर्न बल दिएका छन्।

संयोजक दाहालको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ कि निर्वाचन आयोगमा बुझाइएको विवरणमा केही गलत बुझाइ फैलिएको देखिएको छ। सचिवालयले स्पष्ट पारेको छ कि आयोगमा एकीकरणअघि कायम रहेका स्थायी समिति सदस्यहरूको सूची व्यवस्थापकीय आवश्यकताअनुसार पेश गरिएको हो।

सचिवालयका अनुसार, “कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना महिला केन्द्रीय सदस्यको नाम सूचीमा थपिएको हो। यो कुनै अलग संरचना होइन, विधानअनुसार संरचना बनाउन बाँकी छ।”

संयोजक दाहालले सबै पद र समितिहरू सहमतिको आधारमा गठन हुने बताए। गृहकार्य जारी रहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण संरचना यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी निर्माणमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका समूहहरू सहभागी छन्। सरकारले आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि दल दर्ता प्रक्रिया यही माघ ३० गतेभित्र सम्पन्न गर्न निर्वाचन आयोगले तोकेको समयसीमा छ।


सम्बन्धित समाचार
भर्खरै