२८ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी विभिन्न माग राख्दै पार्टी केन्द्रीय कार्यालय, सानेपामा ज्ञापनपत्र बुझाएका छन्। यो जानकारी केन्द्रीय सदस्य उदय शमशेर राणाले दिएका छन्।
ज्ञापनपत्रमा प्रमुख माग भनेको सरकारले फागुन २१ गते तय गरेको प्रतिनिधिसभा निर्वाचन परिणाममुखी बनाउन १५ औँ महाधिवेशन मङ्सिर १५ भित्र सुरु गर्नुपर्ने उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, “आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्नुपर्ने छ।”
त्यसैगरी, महाधिवेशन अघि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण सम्पन्न गर्नुपर्ने र त्यसका लागि समय सीमा निर्धारण आवश्यक रहेको उल्लेख छ।
ज्ञापनपत्रमा युवा पुस्ताको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गर्ने, पार्टीको आन्तरिक निर्वाचन समितिलाई पूर्णता दिने, सबै तहमा महिला, दलित, आदिवासी/जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडा वर्ग र अपाङ्गता भएका सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समानुपातिक समावेशिता सुनिश्चित गर्ने र युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने विषय पनि समावेश गरिएको छ।
साथै, १५ औँ महाधिवेशनसँग सम्बन्धित भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी आपराधिक संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारबाही गर्न पनि माग गरिएको छ।





















