Logo

३० कात्र्तिक, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको तुलनामा थप घटाएका छन् ।

२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीको विश्लेषण गर्दा, मंसिरमा अधिकतम औसत ब्याजदर ० दशमलव १६ प्रतिशत विन्दुले घटेर ५ दशमलव ०४०५ प्रतिशत कायम भएको छ, जुन कात्तिकमा ५ दशमलव २००५ प्रतिशत रहेको थियो । यस गिरावटको प्रमुख कारण बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुनु र कर्जा प्रवाहमा अपेक्षित वृद्धि नहुनु रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ ब्याजदर सूचीअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतमा सीमित भएको छ । ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा बढी ६ प्रतिशत ब्याजदर कायम राखेर सबैभन्दा अगाडि रहेको छ। मंसिरका लागि जम्मा २० बैंकमध्ये १० वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् भने बाँकी १० वटा बैंकले भने ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकहरूले भने आफ्नो ब्याजदरलाई स्थिर राखेका छन् ।

निक्षेपको ब्याजदर घट्नुको सिधा असर बैंकहरूको आधार दरमा पर्छ, जसका कारण कर्जाको ब्याजदर पनि स्वतः घट्ने बाटो खुल्छ । बैंकहरूले सामान्यतया छोटो अवधिका लागि कम र लामो अवधिका लागि केही बढी ब्याजदर दिने गरेका छन्। वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता उपकरणमार्फत बजारबाट पैसा खिच्ने काम गरिरहेको छ। हाल राष्ट्र बैंकको नीतिगत दर ४ दशमलव ५ प्रतिशत छ।


सम्बन्धित समाचार