३० कात्र्तिक, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियालाई चुनौती दिँदै प्रदेश सभाका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदन माथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
उक्त रिटमाथि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलास मा सुनुवाइ हुने भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध ७४ सांसदले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि, गत मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मुख्यमन्त्री यादवलाई प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नु भनी अन्तरिम आदेश जारी गरिसकेको छ। अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतले रिटको संवेदनशीलता र सार्वजनिक महत्त्वको संवैधानिक प्रश्नलाई ध्यानमा राख्दै कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने गरी अग्राधिकार प्रदान गरेको छ । उक्त रिट निवेदनको अन्तिम सुनुवाइका लागि आगामी मंसिर ११ गते को मिति तोकिएको आदेशमा उल्लेख छ ।















