Logo

३० कात्र्तिक, काठमाडौं । मेक्सिकोको उरुआपान शहरका मेयर कार्लोस मान्जोको हत्यापछि सुरु भएको ‘जेनजी’ शैलीको विरोध प्रदर्शन अहिले देशभर फैलिएको छ।

नोभेम्बरको सुरुमा ‘डे अफ द डेड’ कार्यक्रममा सार्वजनिक रूपमा गोली हानी हत्या गरिएका अपराध विरोधी छवि बनाएका मेयरको घटनालाई लिएर हजारौं मेक्सिकनहरू बढ्दो हिंसा र असुरक्षा विरुद्ध सडकमा उत्रिएका हुन् । शनिबार मेक्सिकोभर जेन–जीको ब्यानरमा व्यापक प्रदर्शन भएको छ । राजधानी मेक्सिको सिटीमा प्रदर्शनकारीहरूको एउटा समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू तोडफोड गर्ने प्रयास गरेका छन् । सो क्रममा दङ्गा नियन्त्रण गर्ने प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएको थियो, जहाँ भीड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रयोग गरिएको थियो ।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार, झडपमा १०० भन्दा बढी प्रहरी अधिकारी घाइते भएका छन् भने २० जना नागरिक पनि घाइते भएका छन् । घटनापछि २० जनालाई पक्राउ गरिएको र अन्य २० जनालाई प्रशासनिक अपराधको लागि सुम्पिएको भाज्क्वेजले जानकारी दिएका छन् ।

विरोध प्रदर्शनका लागि आह्वान गर्ने ‘जेनजी मेक्सिको’ नामक समूहले आफ्नो घोषणापत्रमा यो आन्दोलन गैर–दलीय रहेको र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्ने बताएको छ ।

मेक्सिको सिटीमा केही प्रदर्शनकारीहरूले राष्ट्रपति शेनबामको पार्टीलाई निशाना बनाउँदै ‘मोरेना आउट’ र ‘कार्लोस मरेनन्, सरकारले मार्‍यो’ जस्ता नाराबाजी गरेका थिए, जसले अपराध रोक्न सरकारले बलियो प्रयास नगरेकोमा आक्रोश व्यक्त गरेको छ । अर्कोतर्फ, शेनबामको सरकारले प्रदर्शनको मनसायमाथि प्रश्न उठाउँदै यो आन्दोलन दक्षिणपन्थी राजनीतिक विरोधीहरू द्वारा आयोजित गरिएको र सामाजिक सञ्जालमा ‘बटहरू’द्वारा प्रचार गरिएको आरोप लगाएको छ ।


सम्बन्धित समाचार
भर्खरै