Logo

३० कात्तिक,काठमाडौं ।चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म झापामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो।

सो अवधिमा सवारी दुर्घटनामा २९ जना गम्भीर घाइते भएका छन् भने ६७० जना सामान्य घाइते भएका छन्। असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको छ। साउनमा तीन, भदौमा चार र कात्तिकमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, ३४५ वटा दुर्घटनामा ४८८ वटा सवारीसाधन संलग्न थिए। तीमध्ये दुईपाङ्ग्रे सवारी ३२६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२, र पहिचान हुन नसकेका तीन सवारीसाधन रहेका छन्।

सोही अवधिमा कार्यालयले ६,१०५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनमा कारबाही गरेको छ। साउनमा २,५६४, भदौमा १,९२७, असोजमा २७१, र कात्तिकमा १,३४३ सवारीसाधन कारबाहीमा परेका थिए। यसबापत कार्यालयले रु ५९ लाख ८१ हजार ५३३ राजस्व संकलन गरेको छ।

प्रहरीले यात्रु तथा चालकलाई सवारी नियम पालनामा सतर्क रहन र सडक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार