३० कात्र्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १५ अंकले घटेर २५४० अंकमा झरेको छ ।
दिनभर बजार सामान्य उतारचढावमै सीमित रहे पनि अन्ततः गिरावटमै बन्द भयो। यद्यपि, बजार घट्दा पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १६८ कम्पनीको मूल्य घट्यो भने ७४ कम्पनीको मूल्य बढ्यो । १४ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकहरूमा बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावरलगायत अधिकांश समूहमा गिरावट आयो। यद्यपि, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूह भने सामान्य बढे ।
आज तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हालै सूचीकृत भएका सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकार को मूल्यमा सकारात्मक सर्किट लाग्यो । अर्कोतर्फ, भूगोल इनर्जी को मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमको आधारमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा र माउन्टेन इनर्जी अग्रस्थानमा रहे ।

















