Logo

१ मंसिर,पर्सागढि । डिभिजन बन कार्यालय पर्सा र मातहत रहेका सबै सब डिभिजन बन कार्यालयबीचको समन्वय बैठक आज सम्पन्न भएको छ। डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदको अध्यक्षतामा सब डिभिजन बन कार्यालय बडनिहारमा आयोजित बैठकमा जिल्लामा रहेका बन जग्गाको अवस्था, अतिक्रमण तथा त्यसमा घरबस्ती, खेतीबारी र अन्य कार्यहरूको तथ्यांक संकलन र सिमाङ्कनबारे छलफल भएको छ।

बैठकमा बोल्दै प्रमुख अहमदले पर्सा जिल्लामा रहेको तीनवटा साझेदारी बन र पाँचवटा सब डिभिजन बन कार्यालय अन्तर्गतका बन जग्गामा भएको अतिक्रमणको तथ्यांक संकलन गर्न स्थानीय जनप्रतिनिधि, अगुवा र सञ्चारकर्मीहरूसँग सल्लाह गरेर अमिन खटाई र नापजाँचको काम अगाडि बढाउन निर्देशन दिनुभयो। उहाँले पहिलो चरणमा सबैको सहयोग लिएर अतिक्रमित बन जग्गाको तथ्यांक संकलन र सिमाङ्कन सुरु गरिने जानकारी दिनुभयो।

बैठकमा गादिमाई साझेदारी बनका अध्यक्ष सोहरुम गदि, बिन्दबासिनी कोईलाभार साझेदारीका अध्यक्ष रिजवानुल हक, सबै साझेदारीका अध्यक्ष लखनलाल साह, डिभिजन बन कार्यालय पर्साका बन अधिकृत जवाहरलाल कुर्मी, सब डिभिजन बन कार्यालय रङ्गपुरका बन अधिकृत यस्मिन चौधरी, सब डिभिजन बसन्तपुरका बन अधिकृत मुबारक अलिगदी, सब डिभिजन बडनिहारका बन अधिकृत उजवल यादव, सब डिभिजन सबैया र मनवाका रेंजरहरू, तथा बिन्दबासिनी कोईलाभार साझेदारी बनका प्राविधिक फरमान मियासहित सबै बन कर्मचारीको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार