Logo

२ मंसिर, काठमाडौं । । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट औपचारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार आयोगले उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो, जसको चुनाव चिह्न गुलाबको फूल तोकिएको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै विप्लवले आफ्नो दल नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताएका छन् ।

उनले दल दर्तासँगै देशभरि नयाँ अभियान सुरु भएको घोषणा गर्दै पार्टी पंक्ति र नेपाली श्रमिक जनतालाई विशेष अपिल गरेका छन् । विप्लवले जनता नै इतिहासका निर्माता भएकोमा जोड दिँदै जनताले परिवर्तनका लागि जुन बाटो उपयुक्त देख्छन्, त्यसैमा पार्टी तयार रहने बताए ।

पत्रकारहरूले चुनाव हुनेरनहुनेबारे सोधेको प्रश्नमा उनले ‘चुनाव एक दिन त हुन्छ नै, समाजवाद आए पनि चुनाव हुन्छ नै’ भन्ने जवाफ दिएका छन् । उनले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्ष आफ्नो दलको रहेको बताएका छन् ।


सम्बन्धित समाचार