२ मंसिर,वीरगञ्ज ।सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पदअनुकूल आचरण नगरेको’ आरोपसहित प्रस्ताव दर्ता भइसकेको अवस्थामा मधेश प्रदेशमा राजनीतिक तनाब झन् बढेको छ। यतिबेला विपक्षी सात दलका प्रदेशसभा सदस्यहरूको टोलीले उपसभामुख बबिता राउतलाई भेटेर तत्काल प्रदेशसभा बैठक आह्वान गर्न औपचारिक माग गरेका छन्।
विपक्षी दलको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले ३२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मंसिर ३ गते (बुधबार) बैठक बोलाउन माग दर्ता गराएका हुन्। साहका अनुसार कुल सदस्यको २५ प्रतिशतले बैठक माग गरेपछि उपसभामुखले बैठक आह्वान गर्नैपर्ने संवैधानिक–कानुनी व्यवस्था रहेको छ। उनका अनुसार सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल सुरू गर्न बैठक अपरिहार्य छ।
मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहित सात दलले संयुक्त रूपमा बैठक बोलाउन आग्रह गरेका हुन्।
यसअघि कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वास मत लिन बसेको बैठक स्थगित भएपछि प्रदेशसभा अहिलेसम्म बस्न सकेको छैन। यता मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद र सभामुख मण्डलले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने विवादास्पद निर्णयपछि स्थिति झनै जटिल बनेको छ।
सभामुखविरुद्ध ६४ प्रदेशसभा सदस्यले हस्ताक्षर समेटिएको प्रस्ताव दर्ता भएपछि विपक्षी दलहरूले उपसभामुखलाई बैठक आह्वान गरी प्रदेशसभा सञ्चालन गर्न दबाब बढाएका छन्।















