३ मंसिर,वीरगञ्ज । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लंघन गर्दै बाराको सिमरामा युवाहरूले प्रदर्शन गरेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो।
तर, सिमराको मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा युवाहरू नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आ–आफ्ना घर फर्कन आग्रह गरिरहेका छन्।
प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि भेला, जुलुस, सभा, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाएको छ।
बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेपछि झडप सुरु भएको थियो। त्यसपछि आक्रोशित जेनजी युवाहरूले विमानस्थल पुगेपछि तनाव बढेको हो।
एमालेले बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्न काठमाडौंबाट एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सिमरा आउँदै थिए।
जेनजी अगुवा उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत एमालेको कार्यक्रम असफल पार्न शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए। त्यसै विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा झडप भएको थियो।
काठमाडौंबाट आउने नेताहरूलाई स्वागत गर्न बाराका एमाले नेताहरू र पूर्वसांसदहरू अच्युत मैनाली, किशान श्रेष्ठ, ज्वाला साह लगायत विमानस्थल पुगेका थिए।
नेताहरू विमानस्थलभित्र प्रवेश गर्दा जेनजी युवाहरूले मुख्यगेट ढालिदिएका थिए। उनीहरूले ढुंगा र सिसाका बोतल प्रहार गर्दै निरन्तर नाराबाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। यस क्रममा प्रहरी र जेनजी युवाबीच झडप भएको थियो।
यो पनि पढ्नुहोस :–
सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप, सुरक्षा कडा
बाराको जितपुर सिमरामा कफ्र्यू आदेश जारी
सिमरा विमानस्थलको गेट आक्रोशित समूहले तोड्यो, झडपपछि तनाव बढ्दै कर्फ्यू जारी
सिमराको तनावले एमाले नेता बोकेको जहाज धावनमार्गबाटै फर्कियो















