Logo

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा प्रहरीले चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा तीन भारतीय र एक नेपाली रहेका छन्। बरामद गरिएका गहनाको मूल्य करिब ३७ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्लाको बल्थर थानाका ३३ वर्षीय विजय राय, ६० वर्षीय शेख बुनाद, ३१ वर्षीय विनोद राउत र पर्सा, वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय विद्याकुमार नट रहेका छन्।

पुलिसका अनुसार, गत कात्तिक ३० गते वीरगञ्ज महानगरपालिका–३२ मा शंका लागेर लु. ९६ प ३७३३ नम्बरको स्कुटी रोक्दा शेख बुनादको पाइन्टको खल्तीबाट सेतो रुमालमा राखिएका बिलबिना सुनका केही गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

शेखको बयानका आधारमा नटको घरमा खानतलासी गर्दा ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहनाहरू फेला परेका छन्। बरामद गरिएका सामानमा सुनको सिक्री ११ थान, झुम्का २ थान, नथिया ३ थान, पोतेसहितको माला २ थान, लकेट १ थान, औंठी १ थान, मांगटीका २ थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का २ थान, सुनको बिछिया ८ थान, चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान रहेको छ।

साथै, नगद नेपाली ३ लाख ७९ हजार र भारतीय ९ हजार २०० रुपैयाँ पनि बरामद गरिएको छ। प्रहरीको अनुमानअनुसार बरामद गरिएका गहनाहरू पर्सा र बाराका विभिन्न मेलामेला, उत्सव तथा चाडपर्वका भीडभाडबाट चोरी गरिएका हुन सक्नेछ।

पक्राउ परेकाहरूको विषयमा चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतले ५ दिन म्याद थप अनुमति दिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार