Logo

४ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपले गर्दा बिहीबार सिमरा तथा आसपासका सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन बन्द भएको छ ।

शान्ति सुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो । बुधबार सिमरा विमानस्थल नजिक भएको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले आसपासका विद्यालयका विद्यार्थीहरूलाई गम्भीर असर पुगेको सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले बताएका छन्। उनले प्रहरीले विचार नगरी अश्रुग्याँस प्रहार गर्दा केही विद्यार्थी बेहोस समेत भएको र विद्यार्थीहरूमा त्रासको वातावरण सिर्जना भएकाले बिहीबार विद्यालय बन्द गरिएको जानकारी दिए ।

बुधबार शान्तिपूर्ण रूपमा सुरु भएको विरोध कार्यक्रम झडपमा परिणत भएपछि विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित र त्रासमा परेका थिए। स्थानीय प्रशासनले आकस्मिक रूपमा कर्फ्यु आदेश जारी गरेपछि विद्यालय प्रशासनलाई विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन निकै कठिनाइ भएको थियो। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन) का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले विद्यार्थीहरू सुरक्षित वातावरणमा विद्यालय आउने अवस्था नहुँदासम्म पठनपाठन बन्द रहने स्पष्ट पारेका छन् ।

यसैबीच, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको शान्तिपूर्ण आन्दोलनमा हातपात गर्ने नेकपा एमालेका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारी रहेको जानकारी दिइएको छ ।


सम्बन्धित समाचार