४ मंसिर,वीरगञ्ज । नेपाल–भारत सीमा वीरगञ्ज नाकामा भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित र सरल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सञ्चालन गर्ने एकीकृत सीमा सुरक्षा बीट निर्माण कार्य आरम्भ गरिएको छ। वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य प्रवेशद्वार नजिकैको मितेरी पुल छेउमा उक्त संरचना निर्माण थालिएको हो।
भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि गण्डकसम्म विभिन्न स्थानमा अलग–अलग निकायले चेकजाँच गर्ने प्रथाले विगतदेखि नै पर्यटकलाई ठूलो हैरानी हुँदै आएको थियो। त्यसलाई अन्त्य गर्दै अब एकै स्थानमा統 एकीकृत रूपमा चेकजाँच गरिने भएको हो।
बिहीबार वीरगञ्जमहानगरपालिका कार्यालय, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा बन्न लागिरहेको एकीकृत सुरक्षा बीटको शिलान्यास मेयर राजेशमान सिंहले गरे।पर्साका प्रहरी उपरीक्षक सदीपराज पाठकका अनुसार नयाँ संरचना बनेपछि नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनले नाकामै एकपटक मात्र चेकजाँच गराउनुपर्नेछ। विशेष सूचना बाहेक पर्सा जिल्लाभरमा थप सुरक्षा जाँच नहुने व्यवस्था मिलाइने छ।
एसपी पाठकले यस कदमले भारतीय पर्यटकलाई अनावश्यक जटिलता र दोहोरो चेकजाँचबाट मुक्त गराउने बताए।मेयर सिंहले पनि एकीकृत सुरक्षा बीटले पर्यटक सहजता, अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको क्षमता वृद्धि तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चिततामा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गरे।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक युवराज कटवाल तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत डिएस मीना लगायतको उपस्थिति रहेको थियो।















