४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी युवाहरूको आन्दोलन र त्यसपछि उत्पन्न भएको तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छिन् ।
यो महत्त्वपूर्ण बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्न लागेको हो । बैठक मुख्य गरी सिमरामा उत्पन्न भएको अशान्त परिस्थिति र शान्ति सुरक्षाको अवस्था बारे छलफल गर्न बोलाइएको बुझिएको छ । सिमरामा बुधबार जेनजी युवाहरूले एमाले नेताहरूको आगमनको विरोधमा प्रदर्शन गर्ने क्रममा विमानस्थलमा तोडफोड गर्नुका साथै सडकमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन हिजो साँझ पनि कर्फ्यू लगाइएको थियो, र आज पुनः अवस्था बिग्रिएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यू लगाउन बाध्य भएको छ ।
यस संवेदनशील घटनाले राष्ट्रिय सुरक्षामा चुनौती थपिन सक्ने भन्दै प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को अनौपचारिक बैठक बसेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस घटनाबारे ध्यानाकर्षण गराउँदै तत्काल शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई आग्रह गरेको छ ।















