Logo

४ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय राष्ट्रिय सुरक्षा परिषद्ले गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकले नेपालको संविधानको धारा २६६(१) बमोजिम सेना परिचालन सिफारिस गर्ने निर्णय गरेको हो।

रक्षा मन्त्रालयका सचिव तथा परिषद्को सदस्य–सचिव सुमनराज अर्यालका अनुसार, बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनमा आवश्यक संशोधन गर्दै स्वीकृत गरिएको छ। उक्त प्रतिवेदन अब राष्ट्रपति समक्ष पेश गरिनेछ।

बैठकमा राष्ट्रिय सुरक्षामा देखिन सक्ने चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा भएका पछिल्ला घटनाक्रमले पार्नसक्ने प्रभाव, र भविष्यका सुरक्षा रणनीतिबारे पनि विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहित उच्च सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार