Logo

५ मंसिर, काठमाडौं । बाराको सिमरामा विगत बुधबारदेखि निरन्तर प्रदर्शन गरिरहेका जेनजी युवाहरूलाई वार्ताका लागि आह्वान गरेको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार औपचारिक वार्ताका लागि प्रदर्शनकारीहरूलाई बोलाएको भए पनि शुक्रबार भने प्रशासनले आफ्नो तर्फबाट गर्नुपर्ने कार्यहरू गरिरहेकाले औपचारिक वार्ता गरिरहन आवश्यक नरहेको जनाएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेकाले अब औपचारिक रूपमा वार्ताको आवश्यकता नरहेको निष्कर्षमा प्रशासन पुगेको छ। यद्यपि, छलफलका लागि जिल्ला प्रशासनको ढोका सबैका लागि सधैं खुल्ला रहेको उहाँले स्पष्ट पार्नुभयो।

यसैगरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले पनि औपचारिक वार्तामा बस्नुपर्ने गरी अन्य कुनै माग नरहेको बताउनुभयो । उहाँले ‘प्रहरीले आफ्नो काम गरिरहेको र जाहेरी परेका मानिसहरूलाई पक्राउ गरिरहेको’ जानकारी दिनुभयो ।

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादका कारण दुई दिनदेखि बारा अशान्त छ । जेनजी युवाहरूले कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै बुधबार र बिहीबार दिनभर वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए ।


सम्बन्धित समाचार