Logo

५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा विघटन भएर कानुन निर्माण प्रक्रिया सुस्त भएको अवस्थामा सरकार राष्ट्रिय सभामा रहेका विचाराधीन विधेयकहरूलाई अगाडि बढाउन तयार भएको छ ।

सरकारले नै विधेयकमाथि छलफल सुरु गर्न भनेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काम थालेको छ। समितिकी सभापति तुलासा कुमारी दाहालका अनुसार, प्रतिनिधि सभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए पनि राष्ट्रिय सभामा दर्ता भएका र त्यहीँ रहेका पाँच विधेयक यथावत् छन्, जसमा सरकारले थप एक विधेयक ल्याएपछि कुल संख्या ६ पुगेको छ ।

यी ६ मध्ये तीन विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक— चलचित्र विधेयक, पर्यटन विधेयक र सामाजिक सञ्जाल विधेयक-दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा छन् । समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँगको छलफलपछि चलचित्र विधेयकमाथि छलफल सुरु गरिसकेको छ, जसमा विज्ञ र सरोकारवालाहरूसँग आवश्यक संशोधनबारे समेत छलफल हुनेछ। प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेकी भए पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगको भेटपछि पर्यटन विधेयकमाथि पनि छलफल अगाडि बढाउने तयारी समितिले गरेको छ ।

सभापति दाहालले ‘चलचित्र र पर्यटन विधेयक अगाडि बढ्ने’ बताए पनि सामाजिक सञ्जाल विधेयक अगाडि बढाउने विषयमा भने सरकारले तत्काल कुनै राय नदिएकाले त्यो विधेयक रोकिने देखिएको छ । कानुन निर्माणलाई द्रुतता दिन र नयाँ प्रतिनिधिसभा आएलगत्तै ऐनमा रुपान्तरणका लागि पठाउन सकिने भएकाले राष्ट्रिय सभाले यी विचाराधीन विधेयकहरूलाई अगाडि बढाएको हो ।


सम्बन्धित समाचार