५ मंसिर,वीरगञ्ज । पकहा मैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयले आफ्ना निवर्तमान प्रधानाध्यापक छोटेलाल प्रसाद साह तेलीलाई एक भव्य समारोहका बीच सम्मानपूर्वक विदाई गरेको छ। विद्यालयका प्रधानाध्यापक मनोज यादवको अध्यक्षता र वडा अध्यक्ष सञ्जय प्रसाद चौहानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साहलाई फूलमाला र दोसाला ओढाएर सम्मान गरिएको थियो।
साहले करिब चार वर्षको कार्यकालमा विद्यालयमा अनुशासन सुधार, शैक्षिक गुणस्तर वृद्धि तथा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ कक्षा स्थापना गर्दै विद्यालयलाई नयाँ उचाइमा पुर्याएको वक्ताहरूले स्मरण गरे। उनका नेतृत्वमा विद्यालय यस क्षेत्रको प्राविधिक शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको सहभागीहरूले बताए।
विदाई कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय चौहान, शिक्षा समिति सदस्य अनिल प्रसाद तेली, पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति थियो।

















