५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदामा आवश्यक परिमार्जन गर्नका लागि एक १४ सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको यस कार्यदलमा वर्तमान र पूर्व उपकुलपति (भीसी) हरू लगायतका विज्ञहरू समावेश गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विशेष गरी, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने हालको प्रावधानलाई हटाउने विषयसमेत यही विधेयकमा समावेश गर्ने तयारी मन्त्रालयले गरेको छ ।
मन्त्रालयले सुरुमा ‘उच्च शिक्षा विधेयक’ बनाएर कानुन आयोगमा पठाएकोमा, कानुन आयोगबाट त्यसलाई ‘मापदण्ड विधेयक’ का रूपमा परिस्कृत गरी मन्त्रालयमा फिर्ता आएको थियो । अहिले गठित यस कार्यदलले विधेयकलाई थप विज्ञताका साथ परिमार्जन गरी अन्तिम रूप दिनेछ।















