७ मंसिर, काठमाडौं । युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गरेका महेश बस्नेत सवार गाडीमाथि विराटनगरमा जेनजी युवाहरूको समूहले रातो मसी छ्यापेका छन् ।
प्रहरी भ्यानको पछि–पछि गुडिरहेको अवस्थामा एयरपोर्ट लाइनको सडकमा युवाहरूले दौडिँदै आएर गाडीमाथि मसी फ्याँकेका हुन् । घट्नालगत्तै बस्नेत सवार गाडी रोकिएको थियो भने प्रहरीले तत्कालै दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। पक्राउ परेकामध्ये गौतमले महेश बस्नेत र नेकपा एमालेप्रति साङ्केतिक विरोध जनाउनका लागि रातो मसी फ्याँकेको बताएका छन्। महेश बस्नेतले कार्यक्रममा जान अवरोध पुर्याउन खोजिएको भन्दै यस किसिमको कार्यलाई ‘लोकतन्त्रमाथिको उपहास’ भएको टिप्पणी गरेका छन् ।
पक्राउ परेका जेनजी युवाहरूलाई प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि उनीहरूले महेश बस्नेतविरुद्ध चर्को नाराबाजी गरेको भिडियोमा देखिएको छ।
















