७ मंसिर, काठमाडौं । बैंकिङ्ग प्रणालीमा जम्मा भएर बसेको अत्यधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले बजारबाट ठूलो रकम उठाउने भएको छ ।
केन्द्रीय बैंकले आज, मंसिर ७ गते, ८६ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लगानी अपेक्षित रूपमा हुन नसक्दा प्रणालीमा तरलता थुप्रिएको छ। यही तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यो उपकरण प्रयोग गर्न लागेको हो ।
बोलकबोलबाट ब्याज निर्धारण, भुक्तानी फागुनमा
राष्ट्र बैंकले यस निक्षेप संकलनका लागि आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल मार्फत प्रस्ताव आह्वान गरेको छ। यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ, जसको सावाँ र ब्याज भुक्तानी फागुन ५ गते हुनेछ । यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा कुल आह्वान रकमसम्म ९५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी० बोल गर्न सक्नेछन् ।
निक्षेप बाँडफाँड गर्दा, बोलबमोजिम सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता क्रममा राखी क्रमशः आह्वान गरेको रकमसम्म बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
















