७ मंसिर,सर्लाही । बज्जिका भाषाका प्रखर साहित्यकार **विजय यादव ‘निर्विज’**लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ। सर्लाहीको मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको समारोहमा सम्मान–पत्र प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले संयुक्त रूपमा प्रदान गरेका हुन्।
नेपालमै **पहिलो बज्जिका उपन्यास ‘प्रतिमा’**का लेखक ‘निर्विज’ अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका बहुमुखी प्रतिभा हुन्। उनको कृति ‘प्रतिमा’ २०७९ सालको मधानी महोत्सवमा नेपालका सम्माननीय पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेका थिए। ‘निर्विज’ फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी भइसकेका छन् भने हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन्।
कार्यक्रममा नेपाल–भारतका विभिन्न साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार सन्जय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कार्यक्रमका सचिव मुकेश मिश्रले जानकारी दिए।
समारोहमा साहित्यकार, पत्रकार, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
















