Logo

७ मंसिर, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा आमाप्रतिको अगाध माया र वियोगले एउटा अनौठो तथा हृदयविदारक घटना निम्त्याएको छ ।

बैतेश्वर गाउँपालिका–१, गैरीमुदीका अन्दाजी ६० वर्षीय जलनधर पाख्रिन तामाङले पाँच महिनाअघि मृत्यु भएकी आफ्नी आमाको शवलाई घाटबाट उत्खनन गरी घर ल्याएका छन् । उहाँकी ८१ वर्षीया आमा फुलमाया तामाङको निधन गत असार १५ गते भएको थियो। छिमेकीहरूको विरोधका कारण घर नजिकै शव व्यवस्थापन गर्न नपाएपछि मृतकको शवलाई घरबाट करिब २ किलोमिटर टाढा रहेको घाटमा काठको बाकसमा राखेर गाडिएको थियो ।

आमाको माया बिर्सन नसकेका जलनधरले आइतबार दिउँसो शवलाई घाटबाट झिकेर घरभित्र ल्याएका थिए। जलनधरले आमाको माया बिर्सन नसकेर नै शव घर ल्याएको बताएको पूर्व वडा अध्यक्ष बिर्खबहादुर तामाङले जानकारी दिनुभयो । पाँच महिनापछि निकालिएको शव काठको बाकसमा राखिएकाले सडेगलेको अवस्थामा भने नरहेको तर केही गन्ध आएको स्थानीयहरूले बताएका छन् ।

यस घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जिरीको टोलीले स्थानीयको समन्वयमा हिजो दिउँसो ल्याइएको शवलाई पुनः घाटमै फिर्ता गरी व्यवस्थापन गरेको प्रहरी निरीक्षक विवेक घिमिरेले पुष्टि गर्नुभएको छ।


सम्बन्धित समाचार