७ मंसिर, काठमाडौं । राजधानीको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको शव भेटिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन।
प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानक्रममा एक जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ। ‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं, थप सोधपुछ र भेरिफिकेशन भइरहेको छ,’ प्रहरी स्रोतले जानकारी दियो।
शनिबार दिउँसो बसपार्क नजिकै सडककिनारमा तेस्रो लिंगीको शव भेटिएको थियो। जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। मुचुल्का उठाउँदा तन्नाले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त तन्नालाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो। सोही तन्ना कुन होटलको हो भन्ने पत्ता लगाएपछि त्यस होटलमा बस्ने व्यक्तिहरूको विवरण केलाउँदै अनुसन्धान चलाइएको र सोहीक्रममा एक जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। मृतक तेस्रो लिंगीको पहिचान भने अहिलेसम्म खुलेको छैन।















