८ मंसिर, काठमाडौं । गत कात्तिक महिनामा देशभर ९३ हजार ६६९ वटा घरजग्गा कारोबार भएका छन्, जसबाट सरकारले २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखत पारित, नामसारी, संशोधन, हाल साबिक, रोक्का र फुकुवा जस्ता मुख्य कारोबारहरू यस महिनामा भएका छन् । यसबाहेक अपार्टमेन्ट, जग्गा दर्ता, दाखिल खारेज र मोही हक कायम लगायतका अन्य विविध कारोबारहरू पनि भएको विभागले जानकारी दिएको छ । कात्तिक महिनामा मोरङ, सप्तरी, सिरहा र धनुषा जस्ता जिल्लाहरूमा लिखत पारित धेरै भएको देखिन्छ भने, धनुषा, ललितपुर, काठमाडौं, सुनसरी र झापा कित्ताकाट धेरै हुने जिल्लाको सूचीमा अग्रस्थानमा छन् ।
संकलित कुल राजस्वमध्ये रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ५० करोड ६२ लाख ९६ हजार रुपैयाँ र पुँजीगत लाभकरबापत ९९ करोड ७८ लाख ४४ हजार रुपैयाँ मुख्य आम्दानीका स्रोतहरू रहेका छन् । यसरी कात्तिक महिनामा भएको बृहत् घरजग्गा कारोबारले राज्यकोषमा उल्लेख्य योगदान पुर्याएको छ ।















