Logo

८ मंसिर, काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमण जस्ता गम्भीर आरोपहरू लगाउँदै तत्काल राजीनामाको माग गरेको छ ।

प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारका विभिन्न पदाधिकारीहरूमाथि किटान गरिएका आरोपहरू उल्लेख गरिएका छन्, जसमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको विषयदेखि अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको कुरा समावेश छ ।

त्यसैगरी, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले नातावादका आधारमा सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको जस्ता विषयहरूलाई जेनजी मुभमेन्टले प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षण विना सम्भव नहुने ठहर गरेको छ।

यी सबै गतिविधिले सरकारको राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको भन्दै उक्त मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्नुका साथै सार्वजनिक अवज्ञा गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ।


सम्बन्धित समाचार