८ मंसिर,वीरगञ्ज । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीले प्लस टु तह (कक्षा ११) मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई सम्मान गर्दै भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ। स्वागत समारोह सोमबार विद्यालयको प्रांगणमा विशेष उत्साहका साथ आयोजना गरिएको थियो।
कार्यक्रम प्रधानाध्यापक हरमोडीन राउतको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीन्त यादव हुनुहुन्थ्यो। समारोहमा विशिष्ट अतिथिहरूमा पालिका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव , वडा अध्यक्ष विहारी महतो, समाजसेवी रनिया मसलीम मियाँ, शिक्षक संघ जगरनाथपुरका अध्यक्ष रुपनारायण प्रसाद साह, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको दौरान विद्यार्थीहरूले पालिका अध्यक्ष यादवको स्वागतमा आकर्षक नृत्य प्रस्तुति पनि प्रस्तुत गरेका थिए। सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षालाई पालिकाको पहिलो प्राथमिकतामा राखिएको बताउँदै विद्यालयको पूर्वाधार, सिकाइ वातावरण र शैक्षिक गुणस्तर सुधार तथा विकासका लागि पालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष यादवले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक दुवैले जिम्मेवारी बोक्नुपर्ने पनि जोड दिए। कार्यक्रममा अन्त्यमा उनले कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीलाई सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे।


















