Logo

 ८ मंसिर,काठमाडौं । मिरज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले सम्पर्कबाट टाढा बसेको भन्दै कडा आपत्ति जनाएको छ। सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्न खोज्दा उनले मोबाइल फोन स्विच अफ गरेको र संवाद गर्न इच्छुक नभएको आरोप समूहले लगाएको छ।

प्रधानमन्त्री सचिवालयबाट आफन्त र नातेदारहरूलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाउन उनीहरू सिंहदरबारको दक्षिण गेटसम्म पुगेका थिए। तर, प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल दुबैको फोन सम्पर्कविहीन भएपछि उनीहरू निराश फर्किएका हुन्।

जेनजी अभियन्ता सुशील बुढाथोकीले प्रधानमन्त्रीले फोन नउठाएकोमा खेद व्यक्त गर्दै भने, “हामी बिहानैदेखि फोन गरिरहेका थियौं, तर उहाँले उठाउनुभएन। प्रधानमन्त्री र गृहमन्त्री दुवैको फोन अफ भएपछि कसरी भेट्ने ?”

ढुंगाना समूहले सुशासनमा कमजोरी देखाएको भन्दै प्रधानमन्त्री कार्कीलाई राजीनामा मागसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो। तर, सम्पर्कमै आउन नसकेपछि उनीहरूले सो ज्ञापनपत्र सिंहदरबार दक्षिण गेटकै भित्तामा टाँसेर फर्किएका हुन्।

समूहले प्रधानमन्त्री कार्कीले आफूहरूसँग सम्पर्कमा आउन नचाहनुको कारण सार्वजनिक गर्न माग गरेको छ।


सम्बन्धित समाचार