९ मंसिर, काठमाडौँ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धाभक्तिसहित मनाइँदैछ। विशेषगरी जनकपुरधाममा आज राम-सीताको वैवाहिक कार्यक्रम गरिदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेको दिनलाई स्मरणीय बनाउँदै जनकपुरवासीले यो पर्वलाई वर्षकै सबैभन्दा भव्य सांस्कृतिक महोत्सवका रूपमा मनाउने परम्परा छ। विगत दुई दशकदेखि जनकपुरको ऐतिहासिक रङ्गभूमिमा विशेष कार्यक्रमसहित स्वयंवरदेखि विवाह संस्कारसम्मको सम्पूर्ण प्रक्रिया दृश्यरूपमा प्रस्तुत गरिँदै आएको छ।
महोत्सवअन्तर्गत मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ। आज बिहानैदेखि राम मन्दिर र जानकी मन्दिरबाट बाजागाजा, झाँकी र भव्य शोभायात्रासहित दुलाहा–दुलहीका प्रतिमालाई विशेष डोला सिंहासनमा राखी रङ्गभूमितर्फ लगिनेछ।
रङ्गभूमिमा रामायणमा वर्णित स्वयंवर–विधि, शिवधनुष परीक्षण र विवाह संस्कार सम्पन्न गराइनेछ। त्यसपछि दुलाहा राम र दुलही सीतालाई पुनः जानकी मन्दिरमा ल्याई मिथिला परम्पराअनुसार विवाह सम्पन्न गरिन्छ।
विवाहपञ्चमीमा जनकपुरधाममा देश–विदेश, विशेषगरी भारतका सीमावर्ती प्रदेशहरूबाट लाखौँ भक्तजनको आगमन हुने गर्छ। देवतासमेत अदृश्य रूपमा सहभागी हुन्छन् भन्ने मिथकीय विश्वासका कारण प्रतिछाया जन्तीको आगमनदेखि विवाह संस्कारसम्म अत्यधिक उत्साह देखिन्छ।
रङ्गभूमिमा वर–बधु पक्षबीच हुने हास्य–ठट्टा, गाउँगाउँबाट आएका सांस्कृतिक झाँकी र भव्य शोभायात्राले वातावरण उत्सवमय बन्छ। यस अवसरमा भजन–कीर्तन, रामलीला, प्रवचन तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भइरहेका छन्।
पहिले एक महिना सम्म भव्य रूपमा मनाइने विवाहपञ्चमी महोत्सव हाल चार दिनमा सीमित गरिएको छ। यद्यपि श्रद्धालु भक्तजनको उत्साह, सांस्कृतिक झाँकी र धार्मिक विधिविधानको भव्यतामा कुनै कमी देखिँदैन।
देशभरका राम–सीता मन्दिरमा पनि आज विशेष पूजाअर्चना, आरती तथा सांस्कृतिक कार्यक्रम हुँदैछ। विवाहपञ्चमीको दिन विवाह साइत नहेर्ने चलन मिथिलामा आज पनि प्रचलित छ।
यस अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

















