९ मंसिर, काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा पुगेका छन्। उनी अनिवार्य अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ।
विसं २०८१ भदौ १३ गते निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवमा नियुक्त भएका एकनारायण अर्यालले आफ्नो कार्यकाललाई देशको शासकीय संयन्त्र सुधारको महत्वपूर्ण अध्यायका रूपमा वर्णन गरेका छन्। उनका अनुसार शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाह सुधारमा उल्लेखनीय प्रगति सम्भव भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीतिगत तथा कानुनी सुधारका पहलले सार्वजनिक सेवा प्रवाहमा देखिने ढिलासुस्ती हटाउन मद्दत गर्यो। अनुपयुक्त कार्यविधि तथा मापदण्डको खारेजीदेखि सहकारी क्षेत्रका समस्यालाई समाधान गर्न प्राधिकरण गठनसम्मका काम अर्यालको नेतृत्वमा अघि बढाइएका थिए।
अर्यालले जेनजी आन्दोलनको व्यवस्थापन, सम्बन्धित पक्षहरूसँगको वार्ता र संवादमार्फत शान्ति तथा स्थायित्व कायम गर्न योगदान दिएको दाबी गरेका छन्। एकीकृत सामाजिक सुरक्षा कार्यक्रमलाई जैविक तथ्याङ्क (बायोमेट्रिक्स) प्रणालीसँग जोड्ने कामलाई पनि उनले प्राथमिकताका रूपमा अघि बढाए।
त्यसैगरी देश ‘ग्रेलिष्ट’बाट बाहिरिन आवश्यक सुधारात्मक कार्ययोजना निर्माण र कार्यान्वयनका लागि पहल गरिएको थियो। पहिलोपटक ‘सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस’ मनाउने निर्णय पनि यही अवधिमा गरिएको हो।
सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग, अन्तर–आवद्धता र डिजिटल रुपान्तरणलाई उनका कार्यकालमा विशेष गति मिल्यो। राष्ट्रिय परिचयपत्रलाई सेवाको सुरु बिन्दु बनाउने लक्ष्यसहित सेवा प्राप्तिमा परिचयपत्र नम्बर आधारित प्रणालीलाई मजबुत बनाइएको छ।
उनले सगरमाथा संवादको सहजीकरण, अन्तरराष्ट्रिय सहभागिता विस्तार, तथा नीति प्रयोगशाला (Policy Lab) अवधारणाको विकास र कार्यान्वयनमा पनि विशेष जोर दिएका थिए।
मुख्यसचिवका रूपमा चार वर्षभन्दा बढी समयसम्म जिम्मेवारी सम्हालेका अर्याल अनिवार्य अवकाशमा गएपछि अब प्रशासनिक नेतृत्व सुमन अर्यालले संभाल्नेछन्।
















