Logo

९ मंसिर, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानी (बोतलको पानी) मा तोकिएको भन्दा बढी शुल्क लिने व्यापारिक संस्थामाथि कडाइ गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै विभागले एमआरपीभन्दा बढी रकम असुल नगर्न होटल, रेस्टुरेन्ट तथा सम्बन्धित व्यवसायीहरूलाई स्पष्ट निर्देशन दिएको हो।

विभागका अनुसार विभिन्न स्थानमा बोतलको पानी एमआरपीभन्दा बढी मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि कारबाहीको चेतावनीसहित यस्तो निर्देशन जारी गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “सिलबन्दी बोतलको पानी उपभोक्तालाई उपलब्ध गराउँदा तोकिएको एमआरपीभन्दा बढी रकम लिनु अवैध छ। मेनुमा उल्लेखित वस्तु वा सेवा लिएको आधारमा टेबुलमा राखिएको बोतलको पानीका नाममा अतिरिक्त शुल्क लिनु कुनै हालतमा स्वीकार्य हुँदैन।”

विभागले एमआरपीभन्दा बढी मूल्य लिइएको प्रमाणसहित उजुरी परे उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ अनुसार सम्बन्धित व्यवसायीलाई जरिबाना र क्षतिपूर्तिसमेत गराइने चेतावनी दिएको छ।

उपभोक्ता अधिकार संरक्षणका लागि विभागले निगरानी अझ कडा बनाइने जनाएको छ।


सम्बन्धित समाचार