९ मंसिर, वीरगञ्ज । भारतीय सिनेमाका महानायक धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ।
‘हि–म्यान’ का नामले चिनिने धर्मेन्द्रको अन्त्येष्टि मुम्बईको विले पार्लेस्थित हिन्दू श्मशान घाटमा सम्पन्न भयो । उनको अन्तिम बिदाइमा अमिताभ बच्चन, आमिर खान, सनी देओल, अक्षय कुमार, अनिल कपूर, संजय दत्त, लेखक सलीम खानलगायत भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार उपस्थित थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत शोक सन्देश दिँदै भनेका छन्, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमाको एउटा महत्वपूर्ण युगको समाप्ति भएको छ। उनी असाधारण प्रतिभा, सरलता र विनम्रताका लागि सधैँ स्मरणीय रहनेछन्।”
धर्मेन्द्रको जन्म १९३५ डिसेम्बर ८ मा पंजाबको लुधियाना जिल्लास्थित सहनेवाल गाउँमा सिख–जाट परिवारमा भएको थियो। उनका बुबा विद्यालयका शिक्षक थिए। बाल्यकालदेखि नै अभिनेता दिलीप कुमारबाट प्रभावित धर्मेन्द्रमा अभिनयप्रति गहिरो आकर्षण थियो। यही इच्छाले उनी युवावस्थामै मुम्बई पुर्याए। संघर्षमय प्रारम्भपछि उनले सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ बाट डेब्यू गरे ।
धर्मेन्द्र प्रारम्भमा रोमान्टिक हिरोका रूपमा स्थापित भए । तर १९६६ मा आएको ‘फूल और पत्थर’ उनले भारतीय सिनेमामा ‘एक्सन स्टार’ को नयाँ युग शुरू गराए। यही फिल्मले उनलाई ‘हि–म्यान’ उपाधि दिलायो। सशक्त अभिनय र आकर्षक शरीरका कारण उनी रातारात सुपरस्टार बने ।
सन् १९७५ मा सार्वजनिक भएको ‘शोले’ उनका लागि टर्निङ प्वाइन्ट सावित भयो। वीरूको भूमिकामा उनले दर्शकमाझ अमर उपस्थिति बनाए।
६०, ७० र ८० को दशकमा एकपछि अर्को पुस्ताका सुपरस्टार देखा परे—शम्मी कपूर, राजेश खन्ना, अमिताभ बच्चन—तर धर्मेन्द्र ती सबैको भीडमा पनि अविचलित रूपमा अघिकै स्थानमा रहे। उनी भारतमै होइन, पाकिस्तानमा पनि अत्यधिक लोकप्रिय थिए। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वयं धर्मेन्द्रका प्रशंसक रहेका थिए।
धर्मेन्द्रको निजी जीवन पनि उत्तिकै चर्चित रह्यो। उनले युवावस्थामै प्रकाश कौरसँग पहिलो विवाह गरेका थिए । पछि अभिनेत्री हेमा मालिनीसँगको सम्बन्ध चर्चामा आएपछि सन् १९८० मा उनीहरूले विवाह गरे। दुई परिवारको जिम्मेवारी वहन गर्नुपरे पनि धर्मेन्द्रको लोकप्रियतामा कुनै नकारात्मक असर परेन ।
पहिलो विवाहबाट उनका दुई छोरा सनी देओल र बबी देओल सहित चार सन्तान छन् । दोस्रो विवाहबाट इशा र आहना देओल छन्।
६० वर्षभन्दा बढी लामो चलचित्र यात्रामा धर्मेन्द्रले करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरे। उनको बहुआयामिक अभिनय रोमान्स, एक्शन, हास्य र चरित्र भूमिकासम्म समकालीन दर्शकमा मात्र होइन, नयाँ पुस्तामाझ पनि लोकप्रिय छ।
सिनेमालाई समाजको ऐना मानिने गरे पनि धर्मेन्द्र स्वयं एउटा यस्तो पात्र बने, जसले भारतीय चलचित्रको इतिहासमा बलियो पहिचान बनाइदिए । धर्मेन्द्रको निधनसँगै भारतीय फिल्म उद्योगले एउटा जीवित इतिहास, एउटा ‘हिट मेसिन’ र एक अद्वितीय कलाकार गुमाएको छ । उनको निधनले सम्पूर्ण फिल्म संसारमा शोक छाएको छ ।
धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्कीस’ आगामी डिसेम्बरमा रिलिज हुने तयारीमा रहेको छ। यस फिल्ममा उनकी को-स्टार सुहासिनी मूलेले धर्मेन्द्रसँगको अनुभव साझा गर्दै अभिनेता मात्र नभई एउटा संवेदनशील र विनम्र व्यक्तित्व पनि रहेको बताइन् । सुहासिनी फिल्ममा धर्मेन्द्रकी पत्नीको भूमिका निभाउने छिन् भने धर्मेन्द्र फिल्ममा अगस्तया नन्दाका दादा, ब्रिगेडियर एमएल खेत्रपालको भूमिका निभाएका थिए ।

















